गैडाकोट–१ स्थित श्रीशुकदेव भागवत आश्रम तथा श्रीलक्ष्मीहरि मन्दिरको २८ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन संस्थाका अध्यक्ष एवं मठाधिश स्वामी लक्ष्मणाचार्यज्यूको सभापतित्व, संस्थाका संरक्षक अनन्तश्रीविभूषित पराङ्कुशाचार्य (शठकोप ) यतिराज रामानुज जीयर स्वामीजीको सान्निध्य एवं श्रीलक्ष्मीनारायण मन्दिर देवघाटधामका मठाधिश श्री १००८ श्रीधराचार्य स्वामीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सभामा निम्बार्क वैष्णव परिषद्का अध्यक्ष मोहनशरण देवाचार्य ,श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर लंकुका मठाधिश श्री १००८ जगन्नाथाचार्य स्वामी एवं श्रीश्रीनिवासाचार्य पीठका पीठाधिश श्री १००८ डा.चक्रपाणी स्वामीजीको विशिष्ट आतिथ्यता तथा श्रीवैष्णव परिषद् नेपालका केन्द्रीय सदस्य श्री खगेन्द्र सुवेदी, श्रीवैष्णव युवा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष श्री वेद प्रसाद आचार्य, श्रीलक्ष्मीवेंकटेश मन्दिर गैडाकोट रामानुज वेदविद्याश्रमका मठाधिश स्वामी श्यामाकृष्णाचार्य, रामानुज वेदविद्याश्रमका प्राचार्य श्री दामोदर सापकोटा, मौलाकालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि सापकोटा, आदर्शटोल विकास संस्था गैडाकोट–१ का अध्यक्ष श्रीराम सिग्देल, श्रीवैष्णव युवा परिषद् नेपाल नवलपरासी शाखाका अध्यक्ष श्री शेखर सुवेदी, प्राध्यापक श्री दामोदर रिजाल लगायत संघसंस्थाका प्रतिनिधिहरु अतिथि रहेको कार्यक्रममा आश्रमका उपाध्यक्ष टीकाराम कँडेलले स्वागत मन्तव्य राख्दै धार्मिक संस्थाको सम्वद्र्धन र विकासमा एकजुट भएर लागि पर्न र शास्त्र तथा परमार्थ चिन्तनका लागि आचार्यहरुको समीपमा रहन आश्रमले विगत २८ वर्षदेखि खेलेको महत्वपूर्ण भूमिकाका बारेमा प्रष्ट्याउनुभएको थियो । सभामा बोल्ने वक्ताहरुले आश्रममा नेपाल तथा भारत क्षेत्रकै विशिष्ट विद्वानहरु पनि शास्त्रीय शंका निवारण एवं प्रमाण एकिन गर्न जीयर स्वामीजीलाई भेट्न र परामर्श लिन आउनु,यसरी आउने धेरै आचार्यगणहरुको दर्शन प्राप्त हुने हुदाँ यस गैडाकोट क्षेत्रकै गौरवको विषय भएको बताउदै नारायणीको तटमा रहेको यस गैडाकोट क्षेत्रले नेपाल तथा विदेशमा आध्यात्मिक जागरण फैलाउदै आएको मात्र नभई धार्मिक पर्यटनमा पनि महत्वपूर्ण टेवा पुगेको, यसै क्षेत्रमा रहेका गुरुकुलीय परम्पराका रामानुज वेदविद्याश्रम, श्रीशुकदेव भागवत आश्रमले चलाएको गुरुकुल शिक्षा एवं अद्दितीय रुपमा बनेको श्रीलक्ष्मीनृसिंह दिव्यधाम, लगायतका मठमन्दिरको समागमबाट यस क्षेत्र भू–वैकुण्ठतुल्य भएको आभाष भैरहेको जनाउदै यस क्षेत्रको विकास तथा विस्तारमा एकजुट भई लागि पर्न यस क्षेत्रका स्थानीय मात्र नभई समग्र परम वैदिक हिन्दुधर्माबलम्बीहरु लागि पर्नुपर्नेमा जोड दिएका छन् । सभामा मंगलाशासन गर्दै संस्थाका संरक्षक अनन्तश्रीविभूषित पराङ्कुशाचार्य(शठकोप) यतिराज रामानुज जीयर स्वामीजीले सभाको संचालन वेदोक्त हिसाबले सभाका सबै प्रतिनिधिको विचारलाई मन्थन गरी आश्रमले बनाएको कानुन (विधान) अनुरुप सभामुखले प्रष्ट पार्दै संचालन गर्नुपर्ने र सबैको दत्तचित्त उनै सर्वेश्वर भगवान् श्रीलक्ष्मीहरि परवासुदेव भगवान्को चिन्तनमा आफ्नो चित्त अडाउन सके मानव जीवनलाई सही मार्गमा हिडाउन सकिनेमा जोड गर्दै यसै अनुरुप सभा संचालन गर्नुपर्ने निर्देशन दिनुभएको थियो ।

सभामा विशिष्ट अतिथि निम्बार्क वैष्णव परिषद्का अध्यक्ष मोहनशरण देवाचार्यले अब धार्मिक संघ संगठनका नेतृत्वमा रहेका व्यक्तिहरुले आफ्नो मठ मन्दिर मात्र नभई नेपालको संविधानमा रहेको धर्मनिरपेक्षतालाई हटाई सनातन हिन्दु धर्म सापेक्ष राज्य स्थापित गराउन हालै मात्र जेन्जी आन्दोलनको बलमा आएको परिवर्तनलाई उनै जेन्जीहरुको साथ लिदै युवा पुस्तामा हाम्रा धर्म सस्कृति पुस्तान्तरण गराउन पनि कानुनी व्यवश्था परिवर्तनको आन्दोलनमा सहभागी हुनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै प्रमुख अतिथिश्रीधराचार्य स्वामीज्यूले त्रिवेणीको संगम देवघाटक्षेत्र (तनहँु र चितवन दुई क्षेत्र) र नवलपरासीको गैडाकोट क्षेत्र पवित्र धार्मिक त्रिवेणीको संगममा देवताहरु पनि तीर्थाटन गर्न आउने क्षेत्र भएकाले यहाँ रहने सम्पूर्ण नागरिक पनि देवतुल्य आध्यात्मिक ओतप्रोतले भरिएको हुनुपर्ने र यस क्षेत्रका नागरिक समेतले अन्य क्षेत्रका नागरिकहरुलाई शिक्षा दिने गरि विकाशील हुनुपर्ने र यसका लागि यस्ता आश्रम तथा मठ मन्दिर र आचार्यहरुले अझ बढी क्रियाशीलता देखाउनुपर्ने भएको बताउनुभएको थियो । सभामा आश्रम र आश्रमको नेतृत्वमा संचालनमा रहेको असल संस्कार बाल शिक्षा कार्यक्रमबाट गैडाकोट नगरका समग्र बालबालिकाहरु लाभान्वित भई बालबालिकामा सुशिलता, संयमता, संस्कृति जर्गेना जस्ता विषय स्वतःफूर्त रुपमा बढेकोमा प्रमुख संचालिका यशोदा कौडिन्य र उहाँको टीमको खुलेर प्रशंसा गरिएको थियो । आश्रमका सदस्य श्री कृष्णप्रपन्न गौतमले संचालन गरेको कार्यक्रममा आश्रमका सचिव भरत ज्ञवालीले पेश गरेको सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष उमानन्द कँडेलले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पास गरेको थियो । आश्रमका अध्यक्ष एवं मठाधिश स्वामी लक्ष्मणाचार्यज्यूले आश्रमले गुरुकुलीय पद्धतिमा कक्षा संचालन, मन्दिरको व्यवश्थापन एवं शास्त्रीय मान्यता अनुरुपका सिंग,जुरो एवं घाटीमा माला भएका गीर गाई श्रीलक्ष्मीहरि गौशालाका नामले पालन गरि गौसंरक्षण कार्य गरेको , श्री जीयर स्वामीजीले सम्पादित गरेका हालसम्म १०० विभिन्न धार्मिक पुस्तकहरुको प्रकाशन गरेको बताउदै सहयोग र साथ दिई आश्रममा जोडिने सम्पूर्ण भक्त भागवतहरु, दर्शनार्थीहरु, यस क्षेत्रका स्थानीयबासीहरु,स्थानीय सरकार,सरकारी तथा गैर सरकारी निकायहरु सबैमा धन्यवाद दिनुभएको थियो ।
आजै आश्रमको चौथो अधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता रामजी प्रसाद अधिकारीको संयोजकत्वमा गठित निर्वाचन समितिले पुनः स्वामी लक्ष्मणाचार्यज्यूको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति र ज्यो.माधव सापकोटाको संयोजकत्वमा ५ सदस्यीय लेखा उपसमिति र श्री कृष्णप्रपन्न गौतमलाई सल्लाहकार समितिको संयोजकमा सर्वसम्मतिले गठन गर्दै सम्पन्न गरेको छ । समितिको नामावली यस प्रकार रहेको छ ।
१) अध्यक्ष ः श्री स्वामी लक्ष्मणाचार्य
२) उपाध्यक्ष ः श्री टिकाराम कँडेल
३) सचिव ः श्री भरत ज्ञवाली
४) सह–सचिवः श्री माधव प्रसाद सापकोटा
५) कोषाध्यक्ष ः श्री उमाकान्त खरेल
६) सदस्य ः श्री खगराज अधिकारी
७) सदस्य ः श्री विक्रम पौडेल
८) सदस्य ः श्री लक्ष्मी रिजाल
९) सदस्य ः श्री माधव प्रसाद कँडेल
१०) सदस्य ः श्री ऋषिराम कँडेल
११) सदस्य ः श्री भानुभक्त कँडेल

