नेपाली कांग्रेसको विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौँमा हुँदैछ । महाधिवेशनमा सहभागि हुन जिल्ला–जिल्लाबाट प्रतिनिधिहरु खुल्न थालेका छन् ।
नेपाली कांग्रेस चितवनका सचिव ध्रुब पोखरेलले चितवनबाट विशेष महाधिवेशनमा जान सबैलाई छुट भएको बताए । उनका अनुसार चितवनबाट ७५ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरु काठमाडौं जादैछन् । चितवनमा कुल ७८ जना महाधिवेशन प्रतिनिधि छन् । ‘महाधिवेशनमा जाने प्रतिनिधिहरु अझै खुल्दैछन्, जाने दिनसम्म शतप्रतिशत नै हुने अनुमान छ, अहिलेसम्म ७५ प्रतिशत बढी महाधिवेशन प्रतिनिधि जाने तय भइसकेको छ’–पोखरेलले भने ।
सचिव पोखरेलले नेपाली कांग्रेसको विधान २०१७ (शंसोधन सहित)को धारा १७ को उपधारा २ वनोजिम महाधिवेशन प्रतिनिधिहरुले विधान बमोजिम बोलाईएको विशेष महाधिबेशनमा पार्टीका महाधिवेशन प्रतिनिधिहरु सहभागी हुन स्वतन्त्र रहेको बताए । उनले विधानको कार्यान्वयन र पालना गर्दा पार्टी फुट्छ भन्ने भनाई तर्क संगत नहुने बताए ।
यसअघि गत कार्तिकमा चितवनमा बसेको ९० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरुको भेलाले मंसिर भित्रमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरेर बुझाएको थियो । महाधिवेशनमा सहभागि हुन पूर्व अध्यक्ष जीतनारायण श्रेष्ठ यसअघि नै काठमाडौं पुगि सकेका छन् । उनले साँझ फेसबुक लाइभ गर्दै सबै महाधिवेशन प्रतिनिधिहरुलाई काठमाडौं आउन आह्वान समेत गरेका थिए ।