२५ पौष २०८२
रत्ननगर, चितवन
रत्ननगर महोत्सव–२०८२ ले दोस्रो संस्करणका रुपमा महोत्सव समुद्घाटन् सँगै भएको पूर्वी चितवन स्तरीय शंखनाद प्रतियोगितामा कलात्मक शंखनाद गर्दै राप्ती –४ का भगवान आचार्य विजेता भएका छन् भने उपविजेतामा राप्ती–४ कै विश्वामित्र आचार्य तथा रत्ननगर –१० का मुकुन्द शर्मा पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
महोत्सवको समुद्घाटन समापन लगत्तै भएको सांस्कृतिक कार्यक्रमको शुरुवात शंखनादबाट गरिएको हो । शंखनाद प्रतियोगिताका निर्णायक संयोजक एवं रत्ननगर उवासंघका कार्य समिति सदस्य वेद प्रसाद आचार्य , राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान चितवन शाखाका अध्यक्ष टीकाराम लामीछाने तथा संचारकर्मी रामु आचार्य निर्णायक सदस्य रहेको उक्त कार्यक्रम कला तथा संस्कृति प्रबद्र्धन समिति संयोजक प्रकाशमणी सापकोटाको सभापतित्वमा भएको हो ।
निर्णायक संयोजक वेद प्रसाद आचार्यले शंखनाद गर्नुको महत्वलाई प्रष्ट्याउदै शंख ध्वनि पृथ्वीमा गुञ्जिएको प्रथम शब्दध्वनि भएको जसबाट ॐ को शब्द निस्किएको र यसलाई भगवान् विष्णुको प्रतिकका रुपमा लिने गरिएको धार्मिक मान्यता रहेको बताउदै शंखको महत्व धार्मिक, सांस्कृतिक र वैज्ञानिक तीनै दृष्टिकोणबाट धेरै ठूलो रहेको बताए । जसमा धार्मिक तथा आध्यात्मिक रुपमा पूजा, आरती, हवन, यज्ञ आदिमा शंख फुक्ने चलन रहेको तथा शंख फुक्दा निस्कने ध्वनिले नकारात्मक शक्ति हटाउने एवं पृथ्वीमा रहेका नकारात्मक किटनाशक हानिकारक जीवाणुहरु नष्ट भई वातावरण शुद्ध बनाउने विश्वास रहेको र सनातन हिन्दु धर्ममा शंखलाई मंगलको प्रतिकको रुपमा लिने गरिएको तथा सांस्कृतिक रुपमा विवाह, व्रतबन्ध, पूजा–पाठ, मठ–मन्दिर आदिमा शंख प्रयोग गरिने , प्राचीन कालमा युद्ध सुरु हुनु अघि शंखनाद गरिन्थ्यो , जसले साहस र एकताको भावना जगाउने मान्यता छ भने वैज्ञानिक र स्वास्थ्य सचेतनाका रुपमा शंख फुक्दा फोक्सो मजबुत हुने र श्वास–प्रश्वास प्रणालीलाई फाइदा पुग्न र शंखबाट बनेको भस्म (शंखभस्म) आयुर्वेदमा पाचन र पेटसम्बन्धी रोगमा प्रयोग हुने विशेषज्ञहरुले बताएका छन् । यिनै बहुआयामिक महत्वलाई बुझाउन रत्ननगर महोत्सवको १२ औं संस्करणदेखि शंखनाद कार्यक्रम गर्दै दोस्रो संस्करण गरिएको रत्ननगर महोत्सव–२०८२ का मूल समिति संयोजक शंकर गिरीले बताउनुभयो ।

