रत्ननगर महोत्सव–२०८२ को भजन प्रतियोगितामा धौलागिरी भजन समूह प्रथम

२६ पौष २०८२

रत्ननगर, चितवन

रत्ननगर महोत्सव–२०८२ ले दोस्रो संस्करणका रुपमा महोत्सवको दोस्रो दिन भएको पूर्वी चितवन स्तरीय भजन प्रतियोगितामा रत्ननगर–९ को धौलागिरी भजन समूहले प्रथम, कालिका –२ को कालिका भजन समूहले दोस्रो , खैरहनी –८ को शिवशक्ति भजन समूहले तेस्रो तथा रत्ननगर–१५ को सरस्वती भजन समूहले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

भजन प्रतियोगिताका निर्णायक संयोजक एवं रत्ननगर उवासंघका कार्य समिति सदस्य वेद प्रसाद आचार्य , राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल वागमती प्रदेश इन्चार्ज तथा लोक गायक नविन पौडेल एवं राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान चितवन शाखाका अध्यक्ष टीकाराम लामीछाने निर्णायक सदस्य रहेको उक्त कार्यक्रम कला तथा संस्कृति प्रबद्र्धन समिति संयोजक प्रकाशमणी सापकोटाको सभापतित्वमा भएको हो ।

निर्णायक संयोजक वेद प्रसाद आचार्यले भजन कीर्तनले आध्यात्मिक शक्ति पैदा गर्ने मात्र नभई मन चित्त शान्त गर्न र तनावबाट मुक्त गर्न सकिने शक्ति रहेको, शास्त्र अनुरुप पनि ″ कलौ केशव कीर्तनाद् ″ अर्थात् कलि युगमा भगवान नाम संकीर्तन नै आध्यात्मिक शक्ति उपार्जनको उत्तम उपाय रहेको बताउदै मानव जगत्‌को सृष्टिकर्ता उनै भगवानको नाम संकीर्तन गर्नाले यस मानव जीवनमा सकारात्मक उर्जा पैदा हुदै परमार्थ चिन्तनमा लाग्न सकिने र यसको गायन कलाले सनातन हिन्दु धर्म, संस्कृति र परम्परालाई जागृत गराइराखेको भन्दै यसैलाई मध्यनजर गर्दै धार्मिक सम्पदाको प्रबद्र्धनमा धार्मिक पर्यटनलाई बढावा दिन जनकपुरधाममा स्थित श्रीरामजानकी मन्दिरको प्रवेशद्धार बनाई रत्ननगर महोत्सवको यस संस्करण धार्मिक तिर्थस्थलमय भएको बताए ।

सहभागी भजन समूहले सनातन हिन्दु धर्मका देवीदेवताहरुको नामका धर्म संस्कृतिको सम्वद्र्धनमा लागिपर्ने सन्देशात्मक भजन गायन गर्नुका साथै विभिन्न झाँकी नृत्य प्रस्तुत गरेका छन् । साथै भजनमा भगवानको नाम संकीर्तन मात्र नभएर धर्मान्तरण गर्न नहुने, देशमा भएको चरम वेतिथि र भष्ट्राचारको अन्त्य हुनुपर्ने भन्दै यसबाट मुक्त गर्न धार्मिक एवं आध्यात्मिक चेतनाबाट सही दिशा दिन ,नेपाल धर्ती मातालाई बचाईराख्न भगवानसँग प्रार्थना गर्दै रत्ननगर महोत्सवले यस्ता कार्यक्रम गरेकोमा अधिकतम सफलताको कामना समेत गरेका थिए ।

कार्यक्रममा भजन तथा लोक संगीतका गीत प्रस्तुत गर्दै राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल वागमती प्रदेश इन्चार्ज तथा लोक गायक नविन पौडेलले दर्शकहरुलाई नचाउदै भजनमय सांगितिक माहोल तताएका थिए ।

रत्ननगर महोत्सवको १२ औं संस्करणदेखि भजन कार्यक्रम गर्दै दोस्रो संस्करणमा प्रतियोगितात्मक कार्यक्रम गरिएको रत्ननगर महोत्सव–२०८२ का मूल समिति संयोजक शंकर गिरीले बताउनुभयो ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.