चितवन, माघ ०१–
पूर्वी चितवनमा लागेको ‘दोस्रो चितवन मह उत्सव’ सकिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन ईकाई चितवनको आयोजनामा रत्ननगरको टिकौली चौरमा जारी रत्ननगर महोत्सव परिसरमा लागेको दोस्रो मह उत्सव बिहीबार औपचारिक रुपमा सकिएको हो ।
महको गुणस्तरियताको प्रचारप्रसार र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको मह उत्सवमा दश हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गरेको कार्यालयका प्रमुख महेश रेग्मीले जानकारी दिनुभयो । महा उत्सवमा विभिन्न फुलहरुबाट उत्पादन गरिएको मह चिन्ने प्रतियोगिता, मह सम्बन्धी हाजिरिजवाफ प्रतियोगिता तथा जनचेतनामुलक कार्यक्रमको आयोजना समेत गरिएको थियो । विभिन्न फूलहरुबाट उत्पादन भएको मह चिन्ने प्रतियोगितामा पाँच सयभन्दा बढीको सहभागिता रहेको रेग्मीले बताउनुभयो । सो अवसरमा ६० जनाले पुरस्कार जितेका छन् । मह उत्सव अवधिभर त्यहाँ गएका २ हजार भन्दा बढी व्यक्तिले निःशुल्क मह चाखेको कार्यांलयको तथ्यांकमा उल्लेख छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले अघिल्लो वर्ष सौराहाको हात्ती महोत्सवमा प्रथम मह उत्सवको आयोजना गरेको थियो । त्यो कार्यक्रम प्रभावकारी भएपछि चितवनको रत्ननगर महोत्सवमा मह उत्सवको आयोजना गरिएको कार्यालय प्रमुख महेश रेग्मीले जानकारी दिनुभयो । अहिले पनि पुस २५ गतेदेखि माघ १ गतेसम्म सञ्चालन भएको मह उत्सव सफलता पूर्वक समपन्न भएको उहाँले बताउनुभयो । ‘हाम्रो उद्देश्य महको गुणस्तरिता र बिक्री वितरणका लागि बजारिकरण गर्नु थियो,’ मह उत्सवको उद्देश्य बताउँदै रेग्मीले भन्नुभयो ‘यहाँबाट विदेशी नागरिक सहित देशभरका नागरिकले मह चाखेर जानुभएको छ।’
रेग्मीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखिएको छ । यद्यपि महका स्टल भने महोत्सव अवधिभर रहने बताइएको छ । कार्यालयले उत्कृट स्टललाई समेत पुरस्कृत गरेको छ । स्टल राखेर महको बजारिकरण र व्यवस्थापनमा राम्रो काम गरेको भन्दै बाबा मौरीपालन केन्द्रलाई सम्मानित गरिएको मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाईले जानकारी दिनुभयो ।
बजारमा नक्कली मह आएको अवस्थामा मह गुणस्तरबारे उपभोक्तालाई जानकारी समेत गराउने उद्देश्य राखिएको थियो । चितवनमा उत्पादन भएको महको गुणस्तरिता समेत राम्रो रहेको मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईँले जानकारी दिनुभयो । कार्यालयले मौरीजोन अन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ लेबलिङ’ मा सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७५÷७६ देखि चितवनमा मौरीजोन स्थापना भएको हो । चितवनमा बार्षिक छ देखि साढे छ टन मह उत्पादन हुँदै आएको छ ।